काठमाडौं । विद्यार्थी संगठनभित्र अराजकता र अनुशासनहीनता बढेको भन्दै अखिल (क्रान्तिकारी) ले अध्यक्ष वीरेन्द्र शाहसहित तीन जनालाई संगठनको जिम्मेवारीबाट हटाएको छ।
महासचिव उषाकिरण आजाद कामीका अनुसार वीरेन्द्र शाह, रूपा बुढामगर र डिबी शाहीले राजावादी मुद्दा मुक्नेलाई संरक्षण गरेको भन्दै संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको जनाएको छ ।
जारी वक्तव्यमा संगठनको नीति, विधि, पद्धति र सामूहिक निर्णयलाई कमजोर पार्ने गतिविधि कुनै पनि बहानामा स्वीकार गर्न नसकिने स्पष्ट गरिएको छ।
पदमुक्त गरिएका नेताहरूमाथि गुटबन्दी सिर्जना गर्ने, संगठनात्मक निर्णयभन्दा व्यक्तिवादी निर्णय गर्ने, संगठनको नाम तथा पदको दुरुपयोग गर्ने र संगठनको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि गरेको आरोप लगाइएको छ।
वक्तव्यमा संगठनको घोषित क्रान्तिकारी आदर्श र राजनीतिक कार्यदिशाबाट विचलित हुँदै जातिवाद, क्षेत्रीयतावाद, अर्थवाद, अराजकतावाद तथा सामन्तवादी–प्रतिक्रियावादी प्रवृत्तिलाई प्रश्रय दिएको आरोपसमेत छ।
कारबाहीअघि केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बसेको र सम्बन्धित तल्ला कमिटीहरूसँग आवश्यक परामर्श तथा छलफल गरिएको संगठनले जनाएको छ।
अर्को निर्णय नभएसम्म संगठनको दैनिक कार्यसञ्चालन महासचिव तथा कार्यालय प्रमुख उषाकिरण आजाद कामीले गर्ने निर्णय भएको छ।
अखिल (क्रान्तिकारी) ले विद्यार्थी आन्दोलनलाई थप एकताबद्ध, अनुशासित र संघर्षशील बनाउने घोषणा गर्दै संगठनविरुद्ध फैलाइने भ्रम र अराजकताबाट सचेत रहन विद्यार्थीहरूलाई अपिल गरेको छ।