पठन संस्कृति, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत सामाजिक संस्था मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
देशमा आइपरेको प्राकृतिक विपत्ति र संकटको घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले सोमबार सो रकम राहत कोषको राष्ट्रिय बैंक खातामा जम्मा गराएको हो।
उक्त राहत रकम संस्थाका ३९ जना सक्रिय सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको ७२ हजार ७ सय २१ रुपैयाँमा केन्द्रको तर्फबाट थप ३८ हजार ३ सय ९० रुपैयाँ मिसाएर तयार पारिएको थियो।
सहयोगबारे जानकारी दिँदै संस्थाका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले संकटको यो समयमा नागरिक स्तरबाट पनि हातेमालो गर्नु कर्तव्य भएको बताएको छ।
“देशमा आइपरेको महाविपत्तिमा सरकार र पीडित जनतालाई सानो भए पनि मद्दत पुगोस् भनेर यो सहयोग गरेका हौँ,” वरिष्ठ उपाध्यक्ष भट्टराईले भने, “भविष्यमा पनि राहत, पुनर्निर्माण तथा प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिने जस्ता कार्यमा संस्थाले प्रत्यक्ष रूपमा सघाउनेछ।” संकटको समयमा समाजप्रतिको उत्तरदायित्व बोध गर्दै ऐक्यबद्धता जनाइएको उनले बताए।
“विपत्तिमा परेका नागरिकहरूसँग हामी पनि साथै छौँ भन्ने सकारात्मक सन्देश दिन यो पहल गरिएको हो,” उनले थपे, “आगामी दिनमा थप कुन-कुन क्षेत्रमा के-कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा संस्थाभित्र थप छलफल भइरहेको छ।”
वि.सं. २०७७ सालमा स्थापना भएको मार्क्सवादी ज्ञान केन्द्र कम्युनिस्ट तथा वामपन्थीहरूको साझा वैचारिक मञ्च एवं अनौपचारिक स्कुलका रूपमा क्रियाशील छ।
पठन संस्कृतिको विकास, अध्ययन-अध्यापन, खोज तथा अनुसन्धानका लागि गठित यस संस्थाले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान–प्रविधि र नेपाल चिन्तन जस्ता विषयमा पाठ्यक्रम नै बनाएर काम गर्दै आएको छ।