• आइतवार, आश्विन ४ गते २०८३

नेपालको विपद्मा भारतको अभूतपूर्व साथ, वरुण चौधरीले भने— ‘संकटले फेरि प्रमाणित गर्‍यो नेपाल–भारत सम्बन्धको गहिराइ’

नेपालको विपद्मा भारतको अभूतपूर्व साथ, वरुण चौधरीले भने— ‘संकटले फेरि प्रमाणित गर्‍यो नेपाल–भारत सम्बन्धको गहिराइ’

नेपालको विपद्मा भारतको अभूतपूर्व साथ, वरुण चौधरीले भने— ‘संकटले फेरि प्रमाणित गर्‍यो नेपाल–भारत सम्बन्धको गहिराइ’

  • 260
    SHARES

  • नेपालको विपद्मा भारतको अभूतपूर्व साथ, वरुण चौधरीले भने— ‘संकटले फेरि प्रमाणित गर्‍यो नेपाल–भारत सम्बन्धको गहिराइ’

    काठमाडौं - नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताएका हुन्।


    “कठिन समयमा प्राप्त यस्तो साथले नेपाल र भारतबीच रहेको गहिरो मित्रता एकपटक फेरि उजागर गरेको छ,” चौधरीले भनेका छन्।
    विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका चौधरीले संकटको सुरुवाती चरणमै राहत सामग्री उपलब्ध गराएर नेपालीहरूको हौसला बढाएको भन्दै भारतप्रति आभार व्यक्त गरेका छन्।


    उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवादसमेत दिएका छन्।


    “यसका लागि म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,” उनले भिडियो सन्देशमा भनेका छन्।
    भदौ १४ सम्म भारतले चारवटा हवाई उडानमार्फत नेपालमा ६८.५ टन राहत तथा प्राविधिक सामग्री पठाएको छ। ती सामग्रीमा अत्यावश्यक औषधि, तयारी खाद्य सामग्री, पोर्टेबल जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ सामग्री तथा खोज–उद्धार उपकरण समावेश छन्।


    चौथो उडानबाट मात्रै ११ टन सामग्रीसँगै भारतीय सेनाको १३ सदस्यीय विशेष सुरुङ उद्धार टोली उपकरणसहित नेपाल आएको छ। मृतकहरूको पहिचानमा सहयोग गर्न छवटा फोरेन्सिक टोलीमा आबद्ध १९ विशेषज्ञसमेत डीएनए विश्लेषणका लागि परिचालित भएका छन्।
    बाढीले सडक तथा पुलमा व्यापक क्षति पुर्‍याएपछि भारतले २३० फिट लामो एकलेन मोड्युलर स्टिल पुल निर्माणका सामग्री बोकेका १६ ट्रक नेपाल पठाएको छ। थप सातवटा बेली पुलका सामग्री तथा जडानका लागि प्राविधिक टोली पठाउने तयारीसमेत गरिएको छ।


    चौधरीले तत्काल उद्धार र राहतपछि नेपालको अर्को ठूलो चुनौती पुनर्निर्माण हुने बताएका छन्।


    “हाम्रा धेरै पूर्वाधारहरू—हाइड्रोपावर, विद्यालय, पुलहरू र सडकहरू—क्षतिग्रस्त भएका छन्। राहत सामग्रीजस्तै यी पूर्वाधारहरूको पुनर्निर्माणमा पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ,” चौधरीले भनेका छन्। उनको भनाइले तत्काल राहतपछि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय तथा छिमेकी सहकार्य आवश्यक हुने विषयलाई समेत जोड दिएको छ।


    विपद्पछिको राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रबाट पनि उल्लेखनीय पहल सुरु भएको छ। चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
    कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइ सामग्रीलगायत अत्यावश्यक वस्तु वितरण सुरु गरिएको छ।


    रसुवा र नुवाकोटमा एक–एक राहत शिविर सञ्चालन गरी खाना, स्वच्छ खानेपानी, सरसफाइ सुविधा तथा बालबालिकाका लागि सुरक्षित स्थान उपलब्ध गराउने योजना पनि अघि सारिएको छ।
    एकातिर भारतले राहत सामग्रीदेखि विशेषज्ञ टोली र पूर्वाधार पुनःस्थापनासम्म सहयोग विस्तार गरिरहेको छ भने अर्कोतर्फ नेपाली निजी क्षेत्र पनि राहत र पुनर्स्थापनामा सक्रिय बनेको छ।


    यही पृष्ठभूमिमा चौधरीले संकटको घडीमा देखिएको आपसी सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
    “विपदमा पाएको यो साथ–सहयोगले हामी दुई राष्ट्रको सम्बन्ध अझ बलियो भएको छ भन्ने विश्वास लिएको छु,” चौधरीले आफ्नो सन्देशको अन्त्यमा भनेका छन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology