पूर्वी तराईमा पछिल्लो समय देखिएका साम्प्रदायिक तनावहरू कुनै क्रान्ति नभएर स्वार्थी तत्वहरूको षड्यन्त्रका उपज हुन् भन्ने कुरा बुझ्न अब ढिला भइसकेको छ । शताब्दीयौँदेखि एउटै इनारको पानी खाएर, एउटै बजारमा व्यापार गरेर बसेका हिन्दू र मुस्लिम समुदायबीच असमझदारीको आगो झोसेर कसले फाइदा उठाइरहेको छ? यो प्रश्नको उत्तर खोज्न एउटा प्रतीकात्मक लोककथा निकै सान्दर्भिक बन्न सक्छ । एकदिन एउटा गिद्धका बच्चाहरूले एक्कासी अनौठो जिद्दी गरे, “हामीलाई मानिसको मासु खान मन लागेको छ, जसरी पनि चाहियो ।”
गिद्ध त मरेको सिनो मात्र खाने प्राणी, उसले जीवित मानिसलाई आफ्नो आहाराको निम्ति मार्दैनथ्यो । उसले वन–जंगल र गाउँ–बस्ती चाह¥यो, तर कतै पनि मरेको मानिसको सिनो फेला पार्न सकेन । बच्चाहरू भोका थिए र उनीहरूको जिद्दी कायमै थियो । गिद्धले चलाखीपूर्वक पालैपालो राँगा, सुँगुर, गाई र खसीको मासु ल्याएर दियो । तर, चतुर बच्चाहरूले ती सबै मासु चिनिहाले र मान्छेकै मासु चाहिने अडान लिए । आफ्ना बच्चाहरूको भोको पेट भर्न र इच्छा पूरा गर्न गिद्धले एउटा अमानवीय र भयानक युक्ति निकाल्यो । उसले सुँगुरको मासु लगेर मस्जिदको ढोकामा राखिदियो र गाईको मासु लगेर हिन्दूहरूको पवित्र मन्दिरको संघारमा फालिदियो । भोलिपल्ट बिहान जब मुस्लिम धर्मावलम्बीहरू इबादतका लागि मस्जिद पुगे, त्यहाँ उनीहरूका लागि वर्जित सुँगुरको मासुको दुर्गन्ध फैलाइएको थियो । उता मन्दिरका पुजारी पूजाआजाका लागि जाँदा ढोकामा हिन्दूहरूका लागि पूजनीय गाईको सिनो लतपतिएको थियो । दुवै पक्षका केही अगुवाहरूले आ–आफ्नो समुदायमा यो कुराको बेलिविस्तार लगाए । सत्यको गहिराइ नबुझी दुवैतर्फ आक्रोशको ज्वाला दन्कियो । हिन्दूहरूले भने, “मुसलमानहरूले हाम्रो आस्थामाथि प्रहार गरे, अब यिनीहरूलाई छोड्नु हुँदैन ।” उता मुस्लिमहरूले पनि ठोकुवा गरे, “यो हिन्दूहरूकै काम हो, उनीहरूलाई तह लगाउनै पर्छ ।”
संवादहीनता र उत्तेजनाले उग्र रूप लियो, ढुङ्गामुढा, आगजनी र मारकाट सुरु भयो । चोक–चौताराहरू रणमैदानमा परिणत भए । विवेक गुमेको त्यो साम्प्रदायिक दङ्गामा दुवै पक्षका थुप्रै निर्दोष नागरिकले ज्यान गुमाए ।
अन्ततः, गाउँभरि मानिसका लासहरू छरिए । चलाख गिद्धले सजिलै मानिसको मासु सङ्कलन ग¥यो र आफ्ना बच्चाहरूको इच्छा पूरा ग¥यो ।
वर्तमान सन्दर्भ र पूर्वी तराईको तीतो यथार्थ यो प्रतीकात्मक कथा आजको पूर्वी तराई र मधेस प्रदेशको वर्तमान सामाजिक अवस्थासँग दुरुस्तै मेल खान्छ । हालै सुनसरीको देवानगन्ज (कप्तानगन्ज), सिरहा र मधेसका केही क्षेत्रमा धार्मिक ¥याली, डिजे बाजा र झण्डा राख्ने÷हटाउने जस्ता सानातिना विवादलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भयो । यो घटनाले उग्र रूप लिँदा ३ जना निर्दोष नागरिकको ज्यान गयो र दर्जनौँ घाइते भए । प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाउनुपर्ने परिस्थिति सिर्जना भयो । आजको आधुनिक युगमा मन्दिर वा मस्जिदको ढोकामा मासु फ्याँक्ने त्यो ’गिद्ध’ को भूमिका कसले खेलिरहेको छ? हामीले चिन्न जरुरी छः
सामाजिक सञ्जालका भ्रामक ट्रोलहरूः फेसबुक, टिकटक र युट्युबमा केवल ’भ्युज’ र ’फलोअर्स’ कमाउन वा समाज भाँड्न पुराना र असम्बन्धित भिडियो तोडमरोड गरी भ्रम फैलाउने आधुनिक ’गिद्ध’ हरू डिजिटल रूपमा सक्रिय छन् ।
राजनीतिक रोटी सेक्ने तत्वहरूः समाजमा शान्ति र विकासको एजेन्डा नभएका, बरु जनतालाई धर्मको नाममा विभाजन गरेर आफ्नो खस्कँदो राजनीतिक आधार बचाउन खोज्नेहरू नै आजका गिद्ध हुन् ।
मौलिक सद्भाव भत्काउन चाहने अदृश्य शक्तिहरूः नेपालको ऐतिहासिक धार्मिक सहिष्णुतालाई मन नपराउने र देशलाई अशान्त बनाउन चाहने तत्वहरू नै मन्दिर र मस्जिदको ढोकामा भ्रमको ’मासु’ फ्याँकिरहेका छन् ।
निष्कर्ष
मन्दिरमा गाईको मासु पु¥याउने वा मस्जिदमा सुँगुरको मासु फाल्ने अपराधी न त सच्चा हिन्दू हुन सक्छ, न त सच्चा मुसलमान । त्यो त केवल समाजमा आगो लगाएर आफ्नो स्वार्थको रोटी सेक्ने ’गिद्ध’ मात्र हो । जब–जब हामी उत्तेजनामा आएर आफ्नै छिमेकीको रगत बगाउँछौँ र गाउँमा कफ्र्यु लाग्छ, तब–तब ती अदृश्य गिद्धहरू खुसीले नाच्छन् र हाम्रो लासमाथि भोज भतेर गर्छन् । पूर्वी तराईका सचेत नागरिकले अब बुझ्नुपर्छ कि साम्प्रदायिक दङ्गामा मर्ने र घरबार गुमाउने सधैँ गरिब र सर्वसाधारण नै हुन् । उक्साउनेहरू त सुरक्षित कोठामा बसेर तमासा हेरिरहेका हुन्छन् ।
नागरिक अपिलः
अब हामी के गर्ने?
यो भ्रम र घृणाको डढेलोलाई रोक्न हामी आम नागरिकले तत्काल निम्न ३ कदम चाल्न जरुरी छः
१. डिजिटल सचेतता ९ँबअत ऋजभअप०ः सामाजिक सञ्जालमा देखिने कुनै पनि उत्तेजक भिडियो वा पोष्टलाई सत्य ठानेर सेयर, लाइक वा कमेन्ट नगरौँ । अफवाह फैलाउने अकाउन्टहरूलाई तत्काल रिपोर्ट गरौँ ।
२. स्थानीय संवाद र शान्ति टोलीः प्रत्येक गाउँ, टोल र वडामा हिन्दू र मुस्लिम समुदायका युवा, बुद्धिजीवी र स्थानीय जनप्रतिनिधिहरू सम्मिलित ’सद्भाव समिति’ गठन गरी सानातिना विवादलाई टोलमै छलफल गरेर सुल्झाऔँ ।
३. अपराधीको साझा वहिष्कारः धर्मको आवरणमा साम्प्रदायिकता भड्काउने, ढुङ्गामुढा गर्ने वा सामाजिक सद्भाव बिगार्न खोज्ने व्यक्ति जोसुकै भए पनि उसलाई कानुनी कारबाहीको दायरामा ल्याउन दुवै समुदायले प्रशासनलाई सहयोग गरौँ ।
“छिमेकी बदल्न सकिँदैन, तर छिमेकीसँगको सम्बन्ध र विवेक सधैँ हाम्रै हातमा हुन्छ ।”
(लेखक सामाजिक विकास, मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको सामाजिक अभियन्ता तथा प्रशिक्षक हुनुहुन्छ ।)