मुख्यमन्त्री हेरफेर हुदै , यस्तो छ तयारी

२६ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री परिषदपछि केही मुख्यमन्त्री पनि हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रदेश ५ बाट शंकर पोखरेलले राजिनामा दिएको अवस्थामा पूर्वमाओवादीबाट मुख्यमन्त्री बनाउने तयारी छ । खासगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं फर्कन चाहेका छन् । र, प्रधानमन्त्री ओली उनलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारीमा छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद नरहेको अवस्थामा उनको निर्वाचन क्षेत्र दाङबाट चुनाव जिताउने गरी पोखरेललाई अहिले नै मन्त्री बनाउने एउटा विकल्प पनि हेरिँदै छ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजिनामा गर्न लगाएर पूर्वएमालेका यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

राम्रो कार्यसम्पादन नगर्ने मुख्यमन्त्रीहरूको सूचीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि पर्छन्। तर यी दुवै मुख्यमन्त्रीले राष्ट्रपतिको साथ पाएको चर्चा छ ।