मेस्सीले च्याम्पियन्स लिगसहित तीन खेल गुमाउन सक्ने ?

एजेन्सी– बार्सिलोनाका सुपरस्कटार एवंम् कप्तान लियोनेल मेस्सीले चोटका तीन खेल गुमाउने भएका छन् ।

ला लिगा अन्तर्गतको मंगलबार राति भिल्लारियलविरुद्ध भएको खेलमा मेस्सी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक एर्नेस्टो भलभेर्डेले मेस्सीको चोट सामान्य रहेको बताएतापनि परिक्षणपछि उनले तीन खेल गुमाउने पक्का भएको क्लबले जानकारी गराएको छ ।

प्रशिक्षक भालभेर्डेले मेस्सीको चोट सामन्य रहेको र जोखिम नमोल्ने भन्दै दोस्रो हाफमा मेस्सीलाई बिश्रामका लागि मैदान बाहिर पठाएका थिए । मेस्सीले ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लवले जानकारी गराएको छ ।

बार्सिलोनाले शनिबार गेटाफेसँग खेल्दैछ । अर्काे बुधबार च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलान र त्यसपछि ला लिगामा सेभिल्लाविरुद्धको खेल गुमाउन सक्ने क्लबले जनाएको छ ।

मेस्सी सिजनको शुरुमै चोटसँग जुध्न पुगेका थिए ।

नयाँ सिजनको सुरुवाती चार खेल गुमाइसकेका मेस्सीले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलमा पुनरागमन गरेका थिए ।