राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई नगर्न महासंघको ध्यानाकर्षण

गोरखा, २३ कात्तिक । नेपाल पत्रकार महासंघले राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना निर्माणमा ढिलाई नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

गोरखामा दुई दिनसम्म भएको महासंघको २६ औं पूर्ण वैठकले गोरखा घोषणा जारी गर्दै राष्ट्रिय सरोकारको विषयमा ढिलाई गर्न नहुने बताएको हो । यसै गरी नेपाल–भारत सीमा विवादका विषयमा आवश्यक पहल थाल्न सरकारसँग माग गरेको छ ।

सरकारले कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा र तत्काल आवश्यक पहल थाल्न सरकारसँग माग गरेको हो ।

विभिन्न समयमा आइरहने सीमा सम्बन्धी विवादले दुई देशबीचको मित्रतापूर्ण सम्बन्धमा असर पर्नेतर्फ ध्यानाकर्षण गराउँदै महासंघले दुवै देशका सम्बन्धित अधिकारी बसेर ऐतिहासिक तथ्य तथ्याङ्क लगायतका आधारमा सीमा विवाद मिलाउनुपर्नेमा जोड दिएको छ ।

महासंघका अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षता बसेको बैठकले उत्तर र दक्षिणतर्फका दुवै छिमेकी मुलुकहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम हुनुपर्ने र आपसी सहयोग तथा समझदारी बढाउनुपर्नेमा जोड दिएको छ ।

बैठकले महासंघको सदस्यता शुद्धिकरणका लागि कडाईका साथ काम गर्ने बताएको छ । गोरखा जिल्लाका ऐतिहासिक सम्पदा पूर्ननिर्माण छिटो सक्न समेत महासंघले माग गरेको छ ।

नेपाल पत्रकार महासंघ गोरखा जिल्ला शाखाको आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।