जापानले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने

२६ कार्तिक ,काठमाडौँ। जापानले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने गृहकार्य थालेको छ ।

त्यसका लागि जापान सरकारले नेपालमा छिट्टै सीप तालिम तथा भाषा कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै नेपालीलाई कोटा छुट्याएको थियो।

यसबारे सोमबार श्रममन्त्री गोकर्ण विष्टसँग जापानी राजदूत मासामिची साइगोले छलफल गरेका छन् । मन्त्री बिष्टले नेपाल सरकार र जापान सरकारबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

उनले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको बताउँदै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए ।

भेटमा विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

मन्त्री बिष्टले हाल चलिरहेको नर्सिङ केयर गिभर लिने प्रक्रियालाई चुस्त बनाउन जापान सरकारलाई अनुरोध समेत गरेका थिए ।

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए ।

नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे ।