ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताब राखेपछि गौतमको यस्तो शर्त !

२८ कार्तिक,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा भित्र्याउन खोजिएको चर्चा चल्न थालेको छ  ।

यस बिषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । ‘दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको बुझिएको छ  ।

तर गौतमको भने फरक शर्त छ। उनले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रिय सभामा आउने बताएका छन् । अहिले राष्ट्रिय सभाबाट आउँदा प्रधानमन्त्री बन्न मिल्देन  ।

०७६ माघमा राष्ट्रिय सभाका एक तिहाइ सांसदको कार्यकाल सकिँदैछ । त्यसपछि त्यहाँ एक तिहाइ सदस्य पठाउन निर्वाचन हुनेछ । त्यतिखेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने गृहकार्य सुरु भएको हो।

२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएपछि ओली र गौतमबीच दूरी बढेको थियो । तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका गौतमले सरकारको आलोचना गर्दै गत वर्ष पुसमा भएको स्थायी समितिको बैठकमा १६ पेजको प्रतिवदेन पेस गरेका थिए ।

ओली र गौतमको दूरी पछिल्लो समय उपाध्यक्ष बनाउने, संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय हुँदासम्म सुध्रिइसकेको छ ।