भट्टराईको दस्तावेज :विचारमा स्खलित नेकपा, पहिचान र अधिकारको विपक्षमा कांग्रेश

२८ कार्तिक,काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विचारमा स्खलित भइसकेको बताउँदै केही वर्षमा समाप्त हुने दाबी गरेका छन्।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा उनले सो पार्टी फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाने दाबी गरेका हुन् ।

‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विपक्षी दल कांग्रेसकै कित्तामा रहेको बताएका छन् ।

शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन,’भट्टराईले तयार परेको दस्तावेजमा लेखिएको छ , ‘नेकपा ‘कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण’को नाममा नेपाली कांग्रेसजस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ।’

कांग्रेसको विश्लेषण गर्दै डा.भट्टराईले उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा सो पार्टी रहेको बताएका छन्। संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो हात रहेको उनको जिकिर छ।

कमल थापा नेतृत्वको राप्रपा ‘महेन्द्रीय राष्ट्रवाद’ बाट निर्देशित रहेको उनको भनाइ छ। मसाल, नेकपा (वैद्य), नेकपा (विप्लव), नेमकिपा, माले शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेको र तिनले सत्तारुढ नेकपाकै उपग्रही विचार बोकेको टिप्पणी डा.भट्टराईले गरेका छन्।