ओली–प्रचण्डबीच भेटवार्ता ,मन्त्री हेरफेर गर्ने विषयमा छलफल

२४ कार्तिक ,काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ ।

आज आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठन, उपनिर्वाचनको तयारीका विषयमा छलफल भएको श्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबी सरकारमा रहेका मन्त्रीहरु फेरबदलका विषयमा छलफल भएको हो। शनिबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका थिए।

नयाँ सचिवालयको टिम, मन्त्रीहरुको टुङ्गो दुई अध्यक्षकै बैठकले तय गर्ने स्रोतले बतायो ।

र यो पनि

सचिवालय हेरफेरलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली

प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्रयाक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालयका समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार सचिवालय समूहले संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्यलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर, मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैअघि छलफल गरेका थिए । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरु मात्र फेर्ने विषयमा छलफल केन्द्रीत थियो ।

आधा दर्जनजति मन्त्री हेरफेर गर्ने दुवै लगभग सहमत भएका थिए । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।