मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, यी मन्त्री पर्ने भए बर्खास्तीमा !

काठमाडौँ, २७ असोज। प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको जनाएका हुन् । ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने बारे छलफल भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए ।

तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए ।

प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो । प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए ।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा जान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।