ज्ञानेन्द्र शाहीको पक्षमा गगन थापा : के भने उनले ?

काठमाडौं १२, असोज । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।

‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने ।

त्यस्तै थापाले कुटपिटमा उत्रिनेहरू कायर भएको बताएका छन् । आक्रमणमा संलग्नहरूलाई कायरको संज्ञा दिँदै नेता थापाले आक्रमणकारीका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरूका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरू दोषी हुन् । अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ ।’

भरतपुरको चौबिसकोठीमा शाहीको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरको होटल ग्लोबलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रो बसमा आक्रमण भएको हो । युवा समूहले ढुंगा, रड, लाठी प्रहार गरी माइक्रो बसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको थियो ।

शाहीलाई चितवनमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शाहीको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि समस्या भएको जनाइएको छ ।