नेपाल–भारत सीमा विवादबारे लेखनाथ न्यौपानेको दृष्टिकोण

नेपालको आजको क्षेत्रफल १,४७,१८१ किमि हो तर यो क्षेत्रफलमध्ये कति छिमेकीहरुले हडपेका छन् ? भन्ने विषय नेपालको स्वतन्त्रता र सार्वभौमिकतासँग सम्बन्धित विषय हो ।

प्राकृतिक सिमाना जस्तै पहाडी शृङ्खला, नदी ताल, समुन्द्र किनारा आदि पर्दछन् भने कृत्रिम सिमाना मानिसले जमिनमा भौतिक हिसाबले स्तम्भ बनाएर, ढुङ्गा थुपारेर आकलन गर्ने सीमारेखा हो ।

प्रकृतिक सिमानामा त विवाद निस्कन्छ भने कृत्रिम सिमानामा त झन् बढी विवाद आउने सम्भावना हुन्छ । अझ नेपाल भारत जमिनमा बनेको कृत्रिम सिमाना र छिमेकीको नियत खराब हुँदा आउने समस्या र त्यसबाट पीडित हामी नेपाली भएका छौं ।

त्रिदेशीय विन्दु : जुन विन्दुमा ३ देशका सिमाना एक आपसमा जोडिन्छ त्यसलाई त्रिदेशीय विन्दु (Trijunctionअथवा Triple Point) भनिन्छ । नेपाल र छिमेकी दुई देशबीचमा उत्तरपूर्वी र उत्तरपश्चिम गरी दुई वटा त्रिदेशीय विन्दु छन् ।

उत्तरपूर्वी : ताप्लेजुङ जिल्लामा पर्ने जनक हिमाल शृङ्खलाको ७,४८३ मि अग्लो झिन्साचुलीदेखि १४ किमि पश्चिम चावुक भञ्ज्याङमा रेहको विन्दु उत्तरपूर्वको त्रिदेशीय सीमा क्षेत्र हो । यो विन्दुबारे कुनै विवाद नभए पनि भारतको अनुपस्थितिको कारण स्मारक विन्दु निश्चित हुन् सकेको छैन ।

उत्तरपश्चिमः दार्चुला जिल्लाको ५,५३२ मि अग्लो लिम्पियाधुरा हुनुपर्ने तर यसमा भारतसँग विवाद भएकोले त्रिदेशीय विन्दु लिपुडाँडा वा लिपुलेक अथवा लिम्पियाधुरा भनेर निश्चित हुन् सकेको छैन । विभिन्न प्रतिवेदन, नक्सा र अरू सामग्रीको अध्ययनबाट काली नदीको उद्गम स्थल लिम्पियाधुरा नै उत्तरपश्चिमको त्रिदेशीय विन्दु हो भन्ने कुरा स्पष्ट पार्दछ ।

सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिम सीमा महाकाली नदी निर्धारण गरिए पनि यसको मुहान प्रस्ट गरिएन । त्यसपछिका सबै नक्साहरुमा कालीको मुहान लिम्पियाधुरा उल्लेख गरिए पनि लिपुलेक पश्चिमबाट बग्ने खोल्सीलाई काली भन्न थालियो । आजभोलि भारतले कालापानीको सानो पानीको मुललाई कालीको मुहान भन्दै एकातिर भ्रम छर्ने र अर्कोतिर प्रमाण जुटाउने प्रक्रियामा लागेको छ । यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्म ३८५ वर्ग किमि नेपाली भूमि अतिक्रमणमा परेको छ । यो अतिक्रमणको प्रक्रिया सन् १९५२ देखि सुरू भएको देखिन्छ तर सन् १९६२ मा चीन–भारत सीमा युद्ध हुँदा भारतको हार भयो । भारतीयहरु हारेर पछि हट्दै आउँदा नेपालको कालापानी क्षेत्र सामरिक महङ्खवको देखेर त्यही अड्डा बसाल्ने निर्णय गरे । सुरूमा ५ जना प्रहरीले क्याम्प बनाएर बसे र हाल यो क्षेत्रमा भारतले इण्डो तिबेटियन बोर्डर फोर्स तैनाथ गरेको छ । कालापानी लिपुलेकको नाका ताक्लाकोट हुँदै ल्हासाजस्ता व्यापारिक केन्द्र जाने नाका हो ।

नेपाल–भारत सिमारेखाले नेपालका २६ जिल्ला छोएको छ । यसमध्ये २३ जिल्लाको ७१ स्थानमा ६०,६६२ हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण भएको छ । यसमध्ये दार्चुला (व्यास १ र २) मा ३७,००० हेक्टर, कञ्चनपुरको ९ स्थानमा १,६११ हेक्टर, कैलालीको ३ स्थानमा २५६ हेक्टर, बर्दियाको ४ स्थानमा ३१ हेक्टर, बाँकेको २ स्थानमा ५१ हेक्टर, दाङमा २५ हेक्टर, कपिलबस्तुमा १ हेक्टर, रुपन्देहीको २ स्थानमा ५५ हेक्टर, नवलपरासी (सुस्ता) मा १४,५०० हेक्टर, चितवनको २ स्थानमा १७४ हेक्टर, पर्साको ६ स्थानमा २३३ हेक्टर, बारामा ३० हेक्टर, रौतहटमा १५ हेक्टर, सर्लाहीको २ स्थानमा १२ हेक्टर, महोत्तरीको २ स्थानमा १४ हेक्टर, सिराहाको २ स्थानमा १७ हेक्टर, सप्तरीको ७ स्थानमा १७५ हेक्टर, सुनसरीको ३ स्थानमा ४३ हेक्टर, मोरङको ३ स्थानमा ३५ हेक्टर, झापाको ८ स्थानमा १७४ हेक्टर, इलामको ४ स्थानमा ८२ हेक्टर, पाँचथरको २ स्थानमा ४,११४ हेक्टर र ताप्लेजुङको ४ स्थानमा २,०२० हेक्टर भूमि अतिक्रमित भएको छ ।

#नेपाल–भारत सीमाको समस्या ९७ प्रतिशत हल भयो भनिए पनि मुख्य ठाउँ (कालापानी र सुस्ता) को समस्यालाई ३ प्रतिशतभित्र हालेर भारतले कब्जा गरिराख्ने र हामी नेपाली हेर्ने र भन्नेमा मात्र सीमित हुने खतरा छ । हाम्रो भूमि फिर्ता ल्याउनका लागि नेपालले राजनीतिक, कूटनीतिक र कानुनी उपचार खोज्ने हो । यसका लागि सबै देशभक्त जनता, राजनीतिक र प्रशासनिक क्षेत्रको सोच (दृष्टिकोण) र योजना लागू गर्ने दृढ इच्छा शक्ति आवश्यक हुन्छ ।

नोटः यस विषयमा थप जान्न आवश्यक ठान्ने साथीहरुले “संघर्षको इतिहास” पेज २३३ देखि २७० सम्म हेर्नुहोला ।