आमा मलाई समयले सिकाएको छ: कविता

कविता:-
तिमीले काली भैंसी दुहुदै गर्दा
तिम्रो छाया बनेर अगाडि पछाडि
पछ्याउँदै एकएक पला ममताको
छहारीभित्र लुट्पुटिने यही तन मन ,,,
आज बिर्सिएर र बाटो बिराएर आउने
क्षणिक खुशीसँग साइनो लगाउँदै
एक्लै मुस्कुराउँछु आमा
किनकि मलाई समयले उसैसँग
हाँस्न सिकाएको छ आमा!

हामी मामाघर जाँदाका
ढुंगे उकाला जस्ता सयौं
उकालाहरुले हरेकपल जिस्क्याइरहन्छ्न्
भात छड्किए जसरी छड्किरहेको
मुटु थिच्दै आँखामा लागेको साउने झरीलाई
घुटुक्क निल्दै यात्रामा निस्किन्छु
किनकी मलाई समयले उसैसँग
हिँड्न सिकाएको छ आमा!!

मेरो चन्द्रमा खेलाउने चाहना
अनि तिमीले दिएको जून टीका
खेलाएर पूरा गर्ने गरेका रहरहरु
ती एकादेशका कथा सम्झिदै
सपना र रहरको बीच लागेका
तमाम बन्देजहरुसँग
जीवन बन्दक राखेर
सापटी लिएका केही अवसरहरुमै
रहरहरु पूरा गर्छु
किनकी मलाइ समयले उसैसँग
रमाउन सिकाएको छ आमा!!!

बर्षमा एकदिन
तिमी चर्को स्वर पारेर बोल्दा
कान थुन्दै कयौं घन्टा
भकारी भित्र लुक्ने गरेका
ती अविस्मरणीय अतीतहरु
झक्झक्याउन आज
बिनाकारण बेरसिला ,
असभ्य,जहानियाँ शासन
बोकेका,स्वतन्त्रता माथी
औंला उठाइएका कटु
वचनहरु सुन्दा पनि
मौनताकी दियो बालिरहन्छु
किनकी मलाई समयले उसैसँग
चल्न सिकाएको छ आमा!!!!

२०७६/५/४
दीक्षा भण्डारी जानू