बहुलाएका कुकुरहरु: कविता

कविता

बहुलाएका कुकुरहरू
– शरद पाख्रेल

राजधानी छिरेका छन् यतिबेला
रेबिजले ग्रस्त भएका एक हुल कुकुरहरू

जथाभावी र्याल चुहाउँदै दौडिरहेछन्
बागमती र विष्णुमती किनारका सुकुम्बासी बस्तीहरूमा

निक्कै साँघुरा गल्लीहरूमा
बाटोमै दिउसै लमतन्न सुतिदिन्छन्

सहर निदाउनै लाग्दा
जोडजोडले रातभर भुकिदिन्छन्

राजधानी छिरेका छन् यतिबेला
रेबिजले ग्रस्त भएका एक हुल कुकुरहरू

देख्नै हुन्न-
सालिक स्तम्भ या पुराना भित्ता
पाटी पौवा देवल या ऐतिहासिक दरवार
पछाडिको एक खुट्टा उठाइहाल्छन्
धर्म, आस्था र सम्पदामा खुलेआम
नाचिरहेछन् र तुर्काइरहेछन्
मन्दिर गुम्बा चर्च या मस्जिद
सबठाउँ चहारिरहेछन्
र बिस्ट्याइरहेछन् फोहर।

डरलाग्दा छन् कुकुरहरू

झम्टिहाल्छन्-
विद्यालय जाँदै गरेका कलिला नानीहरूका सपनामाथि

झम्टिहाल्छन्-
भरेको जोहो किनेर फर्किरहेका गृहिणीहरूका भान्सामाथि

झम्टिहाल्छन्-
कुनै चौबाटोमा ग्राहक कुरेर मकै पोली बसिरहेकी आमाको
सन्तानमाथि
बसस्टपनेर यात्रु कुरेर बसेको रिक्सावालको दैनिकीमाथि
या
विमानस्थलमै ‘वर्षौँपछि पनि वेदनाको पोको भिरेर घर फिरेको परदेशीमाथि’

एकाबिहानै दुधको क्यानमा छोराछोरीको भविष्य हालेर
सहर झरेका दाइहरूलाई होस्
या
डोकोभरिको तरकारीसँग बुढा बाआमाको आयु साट्न
आएका दिदीहरूलाई होस्
झम्टिहाल्छन्

उनीहरूमा हुदैन कुनै सचेतना समवेदना
उनीहरूमा हुदैन कुनै मजदुरी मजबुरी
वश यसै उसै झम्टिरहन्छन्

अक्सर झम्टिरहन्छन्
एक्लाहरूमाथि
दुखीहरूमाथि
कमजोरहरूमाथि

तित्तर बित्तर भइरहन्छन् सहरभरि
सडकभरि
हाटबजारभरि
बस्तीभरि

तर जब जब सहरमा ठूलो विनाशको संकेत देखापर्छ
तब तब यिनीहरू जम्मा भैहाल्छन्
सिंहदरवारको वरिपरि

बडो अनुशासित बनेर बसेझैँ गर्छन् तर
हर समय चिथोरिरहन्छन् धरतीको छाती ।

दाङ
हाल : जापान