कमरेडहरुलाई सहिद खुब मन पर्छ

कबिता
“कमरेडहरुलाई सहिद खुब मन पर्छ”

लासहरुको सगरमाथा बनाएर
रगत,आँसु र पसिनाको लिस्नो चढ्दै चढ्दै
सत्ताको सफल आरोहण गरेका कमरेडहरु
अघाएर,अटसमटस हुँदै दुर्गन्धित डकार गर्दैछन्
सहिद दिबशको दिन
सालिक बनेर उभिएका सहिदहरुलाई माल्यार्पण गर्दै
मुठ्ठी कसेर लालसलाम ठोक्छन्
मनमनै मुस्कुराउँछन् र धन्यबाद दिन्छन् ,
यो बम्पर उपहारको लागि
कमरेडहरुलाई सहिद खुब मन पर्छ ।

यसकारण कि सहिदहरु अब माटो भएका छन्
कमरेडहरु माटोलाई खूब माया गर्छन्
किनकी माटोले कमरेडहरुलाई निकै गुन लगाएको छ,
माटोको झुटो नारा लगाएर,
माटोको झुटो कसम खाएर,
माटोको फगत अपचलन गरेर
माटोकै सौदा गरेर मिलेको हो यो
स्वर्गीय आनन्द,
बन्दुकका नालबाट निस्केका गोलीहरुले
सहिदका छात्ती छेडेर रक्ताम्य हुँदा
माटोले नै हो त्यो रगत निलेको र
प्रमाण मेटाएको
माटो हुँदैन थियो त ती रगतले स्वयं कमरेडहरुलाई
बगाइदिन्थ्यो कोशीले आज मधेस बगाए झैँ
तर सहिदहरु आज माटो भित्र गहिरो र नब्युँझने
निन्द्रामा छन्
त्यसैले कमरेडहरुलाई सहिद खुब मन पर्छ ।

अर्को भयंकर ठुलो कारण छ
कमरेडहरुलाई सहिदहरु यति प्रिय हुनुको
किनकी अब सहिदहरु कहिल्यै बोल्दैनन्
कमरेडहरुलाई बोल्ने मान्छे फिटिक्कै मन पर्दैन
अझ आफ्नै बिरुद्द बोल्ने त मन पर्दै पर्दैनन्
आफ्नो स्वर्गमा औंला उठाउनेहरु त झन्
प्रतिक्रियावादीका दलाल हुन्
सहिदहरु कहिल्यै औंला उठाउन सक्दैनन्
त्यसैले कमरेडहरुलाई सहिद खुब मन पर्छ ।

मैना सुनुवारहरु अब कहिल्यै चिहानबाट चिच्याउने छैनन्
मेरा बलात्कारीलाई फाँसी देऊ भन्न
ज्युदै खाडलमा पुरिएर मारिएकी चुनु गुरुङहरु
अब कहिल्यै जलजलाको गित संगै फर्कने छैनन्
च्याङ्बा लामाहरु अब कहिल्यै
डम्फु र बन्दुक एकै चोटि भिरेर फर्कने छैनन्
इच्छुकहरु अब प्रतिबन्ध र चन्द्रागिरीका कबिता लिएर
आउनेछैनन्
बरु भाग्यले नमरेका र अभागले बाचेका
माइला लामाहरु अपांग औंलाका मुट्ठी कसेर
कमरेडहरुका स्वर्ग भत्काउँछु भन्छन्
बारुदले एउटा हात निलेको आरोह नेपाली
अर्को हातले चोर औंला ठड्याउँछ
युद्धमा अंग अंग गुमाउने तन्नेरीहरु
माइतीघरमा लम्पसार धर्ना कस्छन्
कसरी स्विकार्य हुन्छ? कमरेडहरुलाई यो,
र त हत्कडी लगाइन्छ माइलाहरुलाई,
गोली ठोक्न भनिन्छ आरोहहरुलाई
र बुट बजारिन्छ धर्नाकारी घाइतेहरुलाई
ज्युँदा सहिदहरुलाई अब छिट्टै सहिद बनाउनु छ
किनकि कमरेडहरुलाई सहिदको
अपुताली जो परेको छ ।

आर सी संकल्प