बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा आउँदै

१४ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।

उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् ।

उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ। बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए ।

भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।