रेलकाे सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपति सीकाे घाेषणा

२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।

आफ्नो सम्मानमा शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति सी चिनफिङले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तारोन्नती गर्ने पनि बताए ।

नेपाल चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रता मात्र रहेको पनि राष्ट्रपति सीले बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने, ‘आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत उनले जानकारी दिए ।

यसबारे आइतबार सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएपछि यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुनेछ ।