कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी सकिन्छ हेर्न

७ असोज, काठमाडौं । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३,४९,६०३, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए ।